“मन” अनौठो छ....मनलाई हामीले न देखेका छौ,न सुनेका छौ, न येस्लाई छोएर अनुभुती नै लिएका छौ |कुनै रुप नै नभएको यो मन तैपनि यती प्यारो छ | हाम्रो शरीर अन्तरिक र भौतिक रुपले हाड,नशा,माशु र नंग्रा मिलेर कतिधेरै अंगको मिश्रणले बनेको छ | तेही शरीरको मुटु त एउटा अंग न हो तर हामीले महसुस गर्ने अनुभूतिहरु यसै मुटुमा अन्तर्निहित भएर समेटिन्छन् भन्ने हाम्रो मान्यताले नै हामी सायद त्यस्लाई नै भन्छौ “मन”| कति सजिला दुई शब्द को मेलले बनेको मन तर बुझ्न र बुझाउन कति गारो मन...!!
आज सम्म कसैले यो मनलाई न व्याख्या गर्न सक्यो न कसैले आफ्नै मनलाई सहजै बुझ्न सक्यो त अरुको मन बुझ्न झन् कति गारो!मनसँग अनुभूतिहरु छन् भने अर्को तर्फ मस्तिष्क छ जो आफैमा एउटा विश्लेषक छ अनि जब यी दुई अनुभूति र विश्लेषण बीच लडाई हुन्छ अनि सुरु हुन्छ अन्तर्मनको द्वन्द.....
साचै अनौठो छ यो मन! यस्को रुप नै छैन तै पनि हामी भन्छौ “कस्तो मनै नभएको”! कहिलेकाही सबैले जीवनमा सोच्दा हुन् कहाँ छ मन? के हो यो मन? कस्तो मन?
तर बिडम्बना शरीरको अंगको चोट त्यती दुख्दैन होला जति मन दुख्छ, शरीरको चोट र पिडा निको पार्ने दबाई भेट्छौ तर मनलाई निको पार्ने हामी कसैले भेटेनौ| बिज्ञानले लाखौ आविष्कार गरे तर तेही आविष्कारकले आफ्नो मन सम्हाल्ने ऊपकरन भेटाउन सकेन...अनि त यो मनको रहस्य..रहस्य नै छ आजपनि त्यसैले सायद मुश्किल छ यो “मन”| साच्चै के होला यस्तो चिज जसले हामीलाई कहिले हसाऊँछ त कहिले रुवाऊँछ| यो कहिले आफुमा यती सामर्र्थ्य राख्छ कि यसले जगतनै उज्यालो पारिदिन्छ त कहिले यती शिथिल र कम्जोर बनिदिन्छ कि मानौ जीवन को अन्त्य येही नै हो!
“मन” साँच्चै नै अनौठो छ गज्जब को छ... बिशाल चट्टान जस्तो,समुन्द्रको छाल जस्तो,सानो अबोध बालक जस्तो छ..कुनै भयानक राक्क्षस् जस्तो,कहिले भय ले कुण्ठित त कहिले कुनै सुरिलो धुन जस्तो,कुनै बिज्ञ नै पो हो कि जस्तो! “मन” छ र नै त छ माया अनि छ घृणा! मन छ र नै त छ राम्रो नराम्रो! मन छ र नै त छ साचो र झुटो! मन छ र नै त छ सहि गलत| येसरी सय थरि कुरा र चिज केलऊँदा त साच्चै पागल नै पो भईन्छ के रे ! साँच्चै हामीलाई यसले त बिचित्रै पो बनईदिएको रहेछ त! यो शरीर त आखिर सबैको एउटै न हो बस् फरक पर्यो त हाम्रो सोचमा र हाम्रो येही “मनमा”| मन कति निस्ठुर र कति घाती छ, अन्यायी छ,कपटी छ,साच्चै मन त पापी नै पो छ|
येही मनले गर्दा आज सम्बन्ध टुक्रिन्छन्,जीवन काँडा झैँ बिझाउँछ,जीवन ऊजाड लाग्छ,हूलमा पनि एक्लो भईन्छ..पाईला हरु पछाडी सरछन्..यो यती घातक छ कि यसले ज्यानै पनि लिन्छ| कुनै अलौकिक शक्ति जस्तो, कुनै देवी देवताको अदृश्य शक्ति जस्तो यस्ले बस् अनुभूति का ज्वारभाटा हरुमै मान्छेलाई कहाँ बाट कहाँ पुराईदिन्छ|
त के “मन” नभएकै जाती? मन नहुँदो हो त फेरी जीवन कस्तो हुँदो हो ? ढुंगा जस्तो? ढुंगा पनि टुक्रा हुन्छ बरु तर मनै नहुँदो हो त फेरी जीवन मा “अनुभूति” नहुँदो हो| जब अनुभूति हुँदैन त जीवन जीवन रहदैंन....निरश अनि ऊजाड..! जीवन जिउने नै येही अनुभूति संग नै त हो आखिर...येही मन बाट माया उब्जन्छ र तेही माया मै आज संसार अडेको छ| मन छ र नै त फेरी आशा हरु छन्..हरेक चिजमा एक पछि अर्को आशा को त्यान्द्रोले नै हामीलाई अगाडी बढाउँछ| मानिसमा केवल सोच्ने क्षमता मात्र भएर हुँदैन त्यसको निचोड लाई महसुस गर्ने सामर्थ्य पनि हुन जरुरी छ जुन हामीलाई मनले सिकाऊँछ| मन दयावान पनि त छ..महान छ..आफै सम्हालिन्छ र आफूजस्तै अरुलाई पनि सम्हाल्ने शक्ति राख्दछ| मन उपकारी पनि छ स्वच्छ छ..गुणवान छ र येही मन स्वच्छ हुँदो हो त तिर्थ येही मनमा छ.. भगवान हुन्छन् भने त मन्दिर मनमै छ| जीवनलाई हामी कसरी हेर्न रुचऊँछौ त्यो हाम्रो आफ्नु निर्णय हो र त्यो निर्णय हाम्रो सोच र बिचारमा भरपर्छ|त्यही अनुरुप हाम्रो मनलाई हामी कुन स्वोरुप दिन्छऊँ भन्ने हाम्रो निचोड बन्छ र जीवन को गती येसरी नै चल्छ| भनिन्छ नि मानिस को सोचले नै हो मानिसलाई महान बनाउने.. ऊमेर मान प्रतिष्ठाले जो कोही ठुलो सानो भए पनि जब सोच निश्चल छ तब ऊसको मन पनि तेही अनुरुप ले उदार अनि महान बन्छ| जब सोच र मनको तालमेल मिल्छ तब यो अन्तर्मनको कलहलाई हामी सजिलै बिजय प्राप्त गर्न सक्छौं| कहिले मनले मस्तिष्कलाई डोर्याऊँछ त कहिले मन डगमगाऊँदा मस्तिष्कलाई मनले सम्हाल्छ|
यो मनको द्वन्द न सकियो र न सकिनेनै छ तर आफ्नो मनलाई कस्तो स्वरूप दिन्छौ त्यो हामी आफुमा भरपर्छ| जस्तै हेर्ने आँखाँ त उही हो तर देख्ने वस्तु फरक हुन सक्छन्| हो मन लाई कहिले काहिँ उड्न दिनुपर्छ सधै आफ्नो वस्मा पनि त हुँदैन तर उडेर फेरी घर नै फिर्ता आँउछ कि आउँदैन त्यो आफुमा भरपर्छ|मानव बाट दानव हुनु र दानव बाट मानव हुनुमा स्वयम् मनकै जिम्मेवारी छ..जीवनमा ऊतार
चढाव त आईनै हाल्छ किनकी जीवन एउटा निरर्थक प्रयास हो र यो प्रयासमा अटल रहन मनको शक्ति ठुलो छ..| त्यसैले “मन” होस् त खुला निलो आकाश जस्तो फराकिलो....त्यो गहिरो सागर जस्तो जतिनै गहिरो किन नहोस् शान्त र बिशाल...|
अन्तमा आफुसंग आफ्नै युद्धमा सबैलाई शुभकामना.....|