Tuesday, March 29, 2016

दाजुलाई बहिनीको स्मृती

प्यारो दाजु...
धेरै धेरै माया अनि पल पल को सम्झना| आज तपाईहरु भन्दा धेरै टाढा भएको छु...जीवित छु केवल सम्झनाहरुमा! मलाई माफ गर त्यो दिन तिमीले भनेको मानिन,बाबासँग पनि अली झर्किए.. आमाका त्यी कमलो मनको आड लिएर तिमीलाई जिस्क्याई हिँडे| शायद त्यस दिन तिमीले रोक्दा रोकिएको भए आज तिम्रो छेवैमा बसी तिमीलाई जिस्क्याई रहेको हुन्थे| | तर बिडम्बना यसो आज के अब भोलि पर्सी कहिले हुँदैन| तिमीलाई यो बहिनीले अब कहिले सताऊँदिन तर दाजु तिमीलाई जिस्क्याएर नै कहाँ थाकेको थिए र?
दाजु! म तिमीलाई कसरी भनूँ आज तिमी मेरो न्यायको लागी गल्ली गल्ली चाहार्दा मेरा गोडा शिथिल बनेका छन्...आमाको थर्र्र्थर्राउने रुवाई बाट मेरा मुटु कपीरहन्छन्.. बाबाले मनको बाँध थामेको देख्दा मेरो मनको बाँध थामिने कतै ठाउँ नै भेट्दिन| आखीर मेरो गल्ती कहाँनिर भयो त्यो मलाई नै थाहा छैन|
दाजु म कसरी बयान गरूँ तिमीलाई त्यो दिन जुन दिऊँसै मेरा लागी रात थियो| मैले मानव रुपी दानवलाई भेटेको त्यो दिन| त्यसलाई पनि त आमाजस्तै जस्तै एउटी आइमाईले नै संसार चिनाएको.त्यो पनि त सायद कसैको दाजु अनि भाई थियो तर खै त्यसको मनको दया अनि करुणा कहाँनिर गयो? की जन्मदै त्यसले त्यो सब नलिई आयो| आक्रोशमा यती अन्धो त्यो अनि मेरो एक्लो लडाईको त्यो क्षण जहाँ मेरो प्रतेक स्वाशमा संघर्ष थियो| मैले तिम्रो बहादुर बहिनी बनेर लड्नु लडे.. तिमी जस्तै आटिलो बन्न खोजे तर मेरा हर प्रयास निरिह बने| बिना कुनै शस्त्र म लडिरहे..बनकुन्जनै मेरो अवाजहरुमा गुन्जिए.. चराका एक हुल पनि डरले हो की भुर्र्र उडी छाडे| मेरा चित्कारहरुले त्यी पात अनि हाँगाहरुको मन नचिरीएछ क्यार? खै किन हो ती गुन्जाहटहरु कोलाहलमै हराएर गए...|
सुन्छु म नै गलत थिए अरे.. केटी भएर त्यसरी हिंड्नै हुदैन थियो रे..मैले लगाएका लुगामा पो खोट भएछ क्यार रे! होला पनि किनकी वास्तविक्ता मेरा चालचलन हैनन्..मेरा लुगा हैनन्  शायद वास्तविक्ता म छोरी  भएर जन्मनु हो| यो समाजको परिधी भित्र आफुलाई खुम्च्याएर राख्न नसक्नु नै हो| हो मेरा पंखहरु भर्खरैमात्र पलाएका थिए फर्फरौन त बाँकी नै थियो| मलाई उड्न थियो.. तर पहिलो उडान नै नभरी म त धर्तीमै क्षतविक्षत बने| अनि मेरा पंखका अवशेष समाई दाजु तिमी त बेस्कन मुर्छा पर्यौ अरे....!
बाल्यकालका तिमीसंगका त्यी पलहरु..आमा र बुबाको प्यारो बन्ने हाम्रा प्रयासहरु, म लड्दा तिमी हाँसेको र तिमी लड्दा म अनि फेरी एकार्कालाई सधैँ आफ्नो सामु खोज्ने हाम्रा आनीबानिहरु| तिहारका त्यी सप्तरंगी...ओखाररमा तिम्रालागी फोडेका अप्ठ्याराहरु.. सयपत्रीको त्यो सुवास.. तिम्रो लामो आयुको कामना.. यती सब गरिरहँदा मलाई तिम्रो बहिनी हुन पाऊँनुमा गर्व लाग्थ्यो| अनि मनैमनमा यो जुनिमात्र हैन सयौं जुनी तिम्रै बहिनी हुने प्रार्थना गर्दथ्ये| तर त्यी कामनाहरुको आयु नै छोटो रहेछ क्यारे! यो जुनीनै अधुरो बनिगयो| तर दाजु मलाई अझैपनि गर्व छ की म तिम्रो बहिनी हुँ| भाग्यमानी छन् त्यी सबै दिदीबहिनी जसले तिमीजस्ता दाजुभाई पाउँछन् र म कामना गर्छु सबैले पाऊँन पनि| अरु कसैलाई ममाथी बिश्वास नहुँदा तिमीले ममाथी सधैँ विश्वास राख्यौ| आज हरेक मुख्यखबरमा म सनसनी बनिरहंदा तिमी त्यही विश्वासमानै अघि बढिराखेका छौ|
दाजु यही सम्झनु की म तिम्रो आडैमा हरपल छु| अनि मेरो न्यायको यो लडाई मेरो लागी मात्र नभई..यो हरेक दिदी बहिनीको होस्| आज अस्मिता लुट्ने यो घृणित खेल खेल्न हिजो भन्दा आज अझै कति सक्रिय छन्| बस् यती हो की केही कथा बाहिर निस्कन्छन् र केही भित्र-भित्रै हराऊँछन्| त्यी सब कथाहरुका लागी लड्नु| म पनि त अन्तिमसम्म लडेकै थिए तर अधुरो मेरो यो लडाईलाई तिमीले न्याय दिनु| जहाँ यस्ता दानव छन् त्यहाँ तिमीजस्ता पनि त छन् त्यसैले मैले आशा मरेको छैन| मलाई माफ गर जीवन्त क्षँदा पनि कति सताए हुँला आज स्वाश नरहँदा पनि तिमीलाई ठुलो चोट र चुनौती दुबै दिदैंछु, अली भारी जिम्मेवारी सुम्पिदै छु| आमा बाबालाई मेरो भागको पनि हरेक त्यो खुसी, स्याहार अनि आड दिनु |

तिमीलाई बाँचुन्जेल त कहिले भने की नाई खै! तर थाहा छ नि दाजु म तिमीलाई धेरै माया अनि तिम्रो बहिनी हुनुमा सदैव गर्व गर्छु...|

तिम्रो बहिनी.......!