भाग १
पहाडको काखमा एउटा विकट गाउँ छ माझगाउँ
| दुइ अन्य गाउँकोबीच मा परेको हुनाले माझगाउँ नाम रहन गएको त्यस गाउँमा कामी र दमाई जस्ता जातको बाहुल्यता रहेको छ| करिब १५ घरधुरी भएको माझगाउँ सारैनै सुन्दर छ तर
यस्को सुन्दरताबारे संसार अनभिज्ञ छ| घरहरू सबै माटाका खरले छाएका होचा र साना
छन्| मानौ कुनै अग्लो बिदेशी आएमा टाउकोपो बजारिन्छ कि! प्राकृतिक छटाले भरिपूर्ण यस माझगाउँ तर
दुर्भाग्यवश विकट छ| माझगाउँ आफ्नो सिमा पारी सँग अपरिचित छ र सिमापारी माझगाउँ
सँग! मानिसहरु खेती किसानमा जीवन धानिरहेका छन्| शिक्षाको ज्योति नपुगेको यस
गाउँमा केही पढ्न रहर भएकाहरु नभएका हैनन् तर कस्लेपो पढाई दियोस्? तैपनि उनीहरु
खुसीनै छन् जसो तसो जीवन चलेकै छ| निर्दोष छन्,अपरिचित छन् सायद त्यसैले नै खुसी
छन्| माझगाउँ बाट करिब तीन घन्टाको ओरालो यात्रामा एउटा नदी बग्छ,”भँवरे नदी”! पानी
बढेको बेलामा बिशाल रुप लिने भँवरे नदीले एउटा खोचमा पुगी ठुलो भँवर जस्तै रुप
लिने हुनाले पुर्खादेखी नदीलाई भँवरे भनिएको हो| कति सुन्दर अनि निर्मल छ भँवरे
नदी! सुर्यको किरणले नदीमा हिराका टुक्राहरु यत्रतत्र छरिएझैँ लाग्छ| सलल बगिरहने
एउटा यस्तो कडी जसले माझगाउँलाई बाँकी दुनियासँग जोड्छ| तर बर्खामा अजङ्गको बिशाल
रुप लिने यो कडीको कहानी बर्खामा निर्मल बाट निर्मम हुन जान्छ| पोहोर सालमात्रै भँवरेले
जन्तरे कामीको जेठो छोरोलाई हेर्दा हेर्दै निलेको थियो| बर्खायाममा चुनौती दिने निर्मम
भँवरेलाई पार गर्न कुनै डुंगा नभई,कुनै बिशेष पूल नभई एउटा “तुईन” छ! एउटा डोरो
जसमा बोट बिरुवाका लहरा जस्तै लर्किदै मानिसहरु आवत जावत गर्छन्| सगरमाथा नै चढ्ने
जस्ता साहसी यसरी लर्किन्छन् कि भँवरे ले नै जन्मदै सिकाएको!
आजको दिन अली घुर्मौलो छ| कालो बादल आकाशलाई छोप्न अघि बढिरहेछ|
सुर्यले आज लुकामारी खेली रहेको छ| लाग्छ आज दोधारमा छ! बर्खायाम अब धेरै टाढा
नभएको संकेत यस्ले दिईसकेको छ| जुनकिरी घाँस काट्दा काट्दै त्यही आकाशलाई हेर्दै टोलौन पुग्छे! “हईन फेरी त्यही भिमेलाई सम्झिस्
कि के हो ?” नजिकै रहेकी जुठीले जुनकिरीलाई झस्काई दिन्छे| जुनकिरी एकैछिन्
अतालिएझैँ गरेर फेरी काममा लाग्छे|
“भनी दिएछु है बाबै घरी घरी
त्यसैको सपना नदेख!”-जुठीले फेरी भन्छे तर जुनकिरी सुनेको नसुनेझैँ गर्छे| एकैछिन
पछि आफ्नो टन्न भएको घाँसको भारीलाई सोझ्यौदै अघिदेखी चुपचाप रहेकी जुनकिरी
बोल्छे-“अली छिटो गर् पानी पर्छ जस्तो छ!”
जुनकिरी र जुठी दुबैजना बच्चैदेखिका साथी! सानो छॅदा बदमाशी गरेर अर्काको
भागको खानिकुरो प्राय खोसेर खाइदिने जुठीलाई खोसेर जुठो खाएको भन्दै आफ्नी आमाले
सधैं हप्काउनाले “जुठी” नाम रहन गएकी उनी सारै चंचल स्वभावकी थिईन्| यता जुनकिरी
भने आफ्ना बाबुआमाकी एक्ली छोरी! छोरो सानैमा मरेको र धेरै बर्षसम्म निशन्तान
बाबुआमाको शुन्य काखमा अचानक ज्योति भरिदिएकोले बाबुले जन्मदा गह भरि आशु लिई
छोरीलाई समाई “ मेरी जुनकिरी ” भनेका थिए! सारै शालीन,शितल अनि सोझो स्वभावकी
जुनकिरी हेर्दामा पनि उत्तिकै राम्री थिई| अग्ली,गहुँगोरो बर्णकी प्राय आफ्नो लामो
केश एक चुल्ठोमा सर्लक्क पारेर बाटी हिंड्ने जुनकिरी उत्पातै राम्री थिई| गाउँका
मात्र नभई छिमेक गाउँका ठिटा सम्म उसलाई जिस्क्याउन र हेर्न भनी आउँन भ्याऊँथे|
भर्खर उमेरले १८ नाघेकी जुनकिरीको मन भने ऊही जुठीले भनेकै “भिमे” ले लगिसकेको थियो|
दुबैजना घाँसको भारी बोकी घरतिर लाग्छन्| जुनकिरी पछाडी फर्केर स्वाँ स्वाँ! गरी
बगिरहेको पारी भँवरेलाई फेरी एक नजर दिन्छे| सोच्छे-“अब त खोलो पनि व्हात्तै बढ्छ,नदी
पार गर्न अब जीवन फेरी कष्टकर बन्छ..” यती सोच्दै ऊ फेरी भिमेलाई सम्झन्छे|
“जुनकिरी दिदी,जुनकिरी दिदी!” माथीबाट जुनकिरीको काकाको सानो छोरो
गोविंदे निकै हतारिदै जुनकिरीलाई एकोहोरो बोलाउँदै आईरहेको हुन्छ | भिमेलाई सम्झदै
गरेकी जुनकिरी अचानक झसङ्ग हुन्छे!
येतिकैमा जुठीले गोविंदेलाई प्रश्न गर्छे! “ हैन के भो तलाई फेरी
माथीनै कुर्न सक्थेनस्! तलाई सधैं हतार नै हुन्छ है!”
सधैँजसो जुठीलाई केही जवाफ नै नदिई गोविंदे छिट्छिटो स्वाँस फेर्दै जुनकिरीको
अगाडी टक्क अडिएर भन्छ-“जुनकिरी दिदी ठुलीआमा पानीको गाग्रीसंगै चिप्लेर लड्नुभएछ!
टाउको नराम्ररी काटेछ! बेहोस हुनुन्छ| आमाले मलाई हजुरलाई तुरुन्तै बोलाएर ल्याउनु
भन्नुभाछ!” जुनकिरीको घाँसको भारी एक्कासी भुइँमा बज्जारीन पुग्छ| जुनकिरी केही
नभनी हतारिदै गोविंदे अघि आए जसरीनै दौडन थाल्छे| जुठी पनि जुनकिरीलाई नआत्तिन
भन्दै आफुपनि पछिपछि लाग्छे| घर पुग्दासम्म धेरै ढिला भैसकेको हुन्छ| गाउँमा कुनै स्वस्थ चौकी पनि त थिएन!पल्लो गाउँमा
एउटा स्वस्थ चौकी त थियो तर त्यहाँ सम्म लाने समय पनि भएन! जुनकिरीका बाबु दुबै
हात निधारमा राखी आँगनको कुनैमा बसी धुरु
धुरु रोईरहेका थिए! जुन्किरीका काका उनको पीठ थपथपाई सान्तवना दिईरहेका थिए|
गाउँका अन्य सबै जना बिस्तारै आँगनमा भेला हुन थाल्छन्| जुनकिरीले यो सब देखेर
अड्कल काटीसकेकी हुन्छे कि अब उसकी आमा रहिनन्! उसलाई मनपर्ने मकैको रोटी बनाएर
राखिदिन्छु भनेर भन्नुहुने आमाको हातको रोटी अब आज त के कहिलेपनि बन्दैन| जुनकिरी
केही सोच्न नसकी स्तब्ध हुन्छे| थचक्कै सिधै भुइँमा बस्छे| जुठीले तुरन्तै
जुन्किरीलाई समाती आड दिन्छे| गोविंदे पनि छेवैमा बसेर टुलु टुलु घरि जुन्किरीलाई
घरि जुठीलाई पलैपालो हेर्छ| काकी जुनकिरी भएतिर आएर रुँदै जुनकिरीको हात समाई भन्नुहुन्छ-“आउबा
आमालाई हेर्न आऊ!” जुनकिरी बिस्तारै आमालाई हेर्न भनी स्तब्ध मुद्रामा अघि बढ्छे!
आमा भए नजिकै पुगेर टक्क अडिन्छे! अघिसम्म स्तब्ध जुनकिरी अचानक आमा भनी यसरी
चिच्याऊँछे मानौ आज धेरै नबोल्ने जुनकिरीको बोलीको बाँधनै फुटेजस्तो! आमालाई
अंगालोमा बाँधेर “आमा! आमा ! आमा!” भनी रुन थाल्छे मानौ की भँवरे नै आज उसको
आँखाको बाटो हुँदै बगिरहेछ! जति आमा भनी हल्लाउदा र बोलाउदा पनि आमाको तर्फबाट
केही प्रतिउत्तर नै नआईदिदा जुनकिरी झन् भक्कानिंछे|
(छाडेर त सबैलाई जानुनै नै छ तर पनि वियोगको पिडा
किन यति अस्हैय छ......?)
छोरी आइसकेको थाहा नभएका जुन्किरीका बाबु छोरीको चिच्याहटले झसङ्ग
बन्दै जुरुक्क उठेर छोरी भएथिम जन्छन्| दुबैजना बाबुछोरी आमाको शरीरसँग एकै डल्ला
परेर रुन थाल्छन्| सारा गाउँनै यो दृश्य देखी स्तब्ध बन्छ| अघिसम्म लुकामारी
चलिरहेको आकाश कालो अँध्यारो रूप लिई अचानक बर्सन थाल्छ! मानिसहरु सबै ओत लाग्न
थाल्छन्| दिनपनि कस्तो..जुन्किरी र उस्को बाबुलाई चुनौती दिन खोजे जस्तो!
जुनकिरीका बाबु र आमाको प्रेम बिवाह भएको थियो| त्यसबेलाको प्रेम बेग्लै थियो! उबेला
भर्खर १७ मा लागेकी जुनकिरीकी आमालाई बाबुले असाध्यै मनपराउँथे| बँईस छँदा
ठ्याक्कै जुनकिरी जस्तै राम्री जुनकिरीकी आमाले पनि जुन्किरीका बाबुलाई ऊबेला मन्
दिईसकेकी थिईन्| एउटा सफल प्रेम कथा थियो जुनकिरीको बाबुआमाको जुन आज समय नहूँदै
बज्रपातमा परेको थियो|
भाग २
आमा बितेको एक महिना बढी भैसकेको थियो| भँवरे पनि टन्न पोषण पुगेर
हुर्केको बालक जस्तो गरि अजंगको रूप लिन थालिसकेको थियो| जुनकिरी भर्खर घाँस काटी
गोठ पसेर घर आएकी थिई| घर भित्र पस्न लाग्दा उस्ले भित्रबाट बिर्खे काकाको आवाज
सुनी|
“ हेर दाई! केटो राम्रो घरको छ| हाम्री जुनकिरीलाई पनि असाध्यै मनपराउंछ| जुनकिरी असल छे तेरो
कुरो आजसम्म काटेको पनि त छैन अहिले पनि कट्दैने|”
“तर यसकी आमा बितेको घाउ अझै ताजै छ..फेरी एकबर्ष पनि बितेको छैन
भर्खर एकमहिना त भाछ! सुन्नेले पनि मलाई के भन्लान् यसो गर्दा! मेरो एकमात्र आधार
नै यही छोरीनै त हो| भएपनि अबो अर्को बर्षमात्रै सम्भव होला बिर्खे अहिलेनै त म
उसलाई केही भन्न सक्दिन| केटा पट्टिकाले कुर्छन् भने अब केही समय पछी मात्रै सम्भव
होला| नत्र भैगो छोड्दे यसबारे कुरै नगर!”
बाबु र काकाको कुरो सुनेर अचानक जुनकिरी भित्रैबाट झसङ्ग हुन्छे|
एकैछिन त उसलाई काकाको कुरा सुनेर झनक्क रिस पनि उठ्छ तर फेरी सोच्छे आफुलाई आफ्नै
छोरीसरह नै माया गर्ने काकाले आफ्नै भलोका निम्ति भने होलान्| जुनकिरी मनैमनमा सोच्छे-“अब
त दुनियाँको नजरमा बाबुको लागी बोझनै पो भएछु क्यार! आमा हुँन्जेल त कसैले केही
भनेजस्तो लाग्थेंन अब अचानक किन यस्ता कुरा गर्दैछन् काका?” ढोकैमा ऊब्बीएर फेरी
जुनकिरी टोलौन पुग्छे| येतिकैमा काका भित्रबाट आफ्नो टोपी सोझ्याऊदै निस्किन्छन्|
“अहो! जुनकिरी कतिबेला आएकी?” यो सुनेर जुनकिरी झस्किए झैँ हुन्छे!
“भर्खरै काका!”-जुनकिरीले जवाफ दिन्छे|
“लौ म त लागे है तेरी काकीले अगिनै हो बोलाकी अब पनि गईन भने कुचोनै
लिएर आऊँछे!”
यती भनी उनी मुस्कुराऊदै
जुनकिरीको घरभन्दा तीनघर मास्तिर आफ्ना घरतिर लाग्छन्|
जुनकिरी फेरी भिमेलाई सम्झिन्छे| गएको मंसिरको सिरेटोमा त्यही आँगनमा
आई भनेको थियो- “मेरा बाबुलाई लिएर आई येही तिम्रो पिढीमा बसेर तिम्रो हात माग्ने
हो|अरु कुरो थाहा भएन बैशाखमै लग्ने हो!” १९ बर्षे अल्लारे भिमे जुनकिरीको आमालाई
समेत बेला बेला ढोगे है सासुआमा भनी गिज्याउन कतिपनि पछि पर्थेन|
“जान्छेस् नि हैन? मसंग!” जुन्किरीलाई हातले च्याप्प समाई आफु नजीक
ल्याई यसो भन्दा जुनकिरी झन्डै आत्तिएर लाजले बेहोसनै हुन अटेकी थिई|
तर बैशाख त के जेष्ठ पनि गैसक्यो|गएको जाडोमा गरेको त्यो बाचा पुरा
गर्ने म्याद त सकिपनी सक्यो| सासुआमा भनी गिज्याऊँदा रिसाउनुको सट्टा हाँसेर गाली
गर्ने जुनकिरीकी आमाले पनि समय नहूँदै छाडेर जानुभयो| जुनकिरीलाई यो सब सोचेर फेरी
रुन मनलाग्छ| तर मन थामी बाबुलाई खाजा बनाईदिन भित्र जान्छे|
“ए! आज त छिटै आइछेस् त!”
जुनकिरी बाबुलाई पनि नहेरी चुलोमा पानी बसाल्न लाग्छे|
“हैन के भो फेरी तँलाई! जुठीले गिजाई क्या फेरी?”
जुनकिरी केही बोल्दिन!
“यता हेर्त! अनुहार पनि अली अर्कै देख्छु.. सन्चो पो भएन की!”
जुनकिरी अन्तत बोल्छे त्यो पनि दुई शब्द-“ केही भाछैन”
“तेरी आमा र तँईले पनि भो कुरो लुकाउन जानेको हो की नजानेको!भन्न के
भो?”
“बाबा तपाईलाई म बोझ त भाछैन नि?” जुनकिरी भुटेको मकैको थाली बाबुको
अगाडी अलि रिसाएझैँ गरी धकेली भन्छे|
“ए कुरो तेसोपो! भनेसी सुनिस हैन त काका र मेरो कुरो!”
यती भनेर उनी जुनकिरीको नजिक गई आडैमा बस्छन्|
“हेर तँईले कति सुनिस के सुनिस त्यो मलाई थाहा भएन| तर यती बुझ तेरो इच्छा
नै नभई चाहिँ म केही गर्दिन|”
बाबुको कुरा सुनेर जुन्किरीलाई अघिसम्म कता कता भरिएको मन हलुका भए
जस्तो अनुभव हुन्छ| बाबु छोरी शान्त भई केही नबोली खाजा खान्छन्| एकैछिन पछि बाबु
खाजा सकी जुरुक्क उठ्छन् र भन्छन्-“तर एउटा कुरा कसैको आशामा चाहि बस्ने काम नगर
है|आफुलाई लेखेको नभई हुँदैन| तेरी आमाले नि मलाई बाचा त गरेकी हो नि! खै आज मलाई
एक्लै छाडेरै गई क्यार! ल म खेत तिर गए अहिले|”
यति भनेर मैलो पुरानो धोति लगाएका उनी आफ्नो किल्लामा झुण्डाइएको
अस्कोटलाई झिकेर टकटकाई ज्यानमा हतार हतार उनेर तलतिर लाग्छन्|
बाबुको कुराले जुनकिरीको मन फेरी भिमेतिरै जान्छ| जुनकिरीले बाबुको
घुमाउरो कुरो बुझिसकेकी थिई| उनको इशारा भिमे तिर नै थियो भन्ने उस्ले बुझेकी थिई|
तर के गर्ने उसको मन त भिमे जति सुकै
निष्ठुर नै भएपनि उसैमाथी थियो| नसम्झु त सम्झु सम्झु लाग्ने सम्झु त मन भारी भई
आउने.. कस्तो बिडम्बना| न कुनै खबर न कुनै अत्तो पत्तो!
भाग ३
जुनकिरी र जुठी खेतमा एक अर्कालाई हिलो छ्याप्दै जिस्किदै थिए| यतिकैमा
सधैँ जस्तै गोविंदे जुनकिरीको नाम परैबाट सुन्नेगरी चिच्यऊँदै दौडदै आऊँछ|
“ऊ फेरी के भो अब यस्लाई!”- जुठी गोविंदे आउंदै गरेको दिशातिर हेर्दै
भन्छे|
जुनकिरीको मनमा अचानक चिसो पस्छ| गएको चोटी यसरीनै आऊँदा आमाको दुखद
समाचार बोकी आएको थियो.. अब के भएछ भनी उसको मन अतालिएझैँ हुन्छ|
जुन्किरीको अनुहारको भाव बुझेर जुठी पनि चिच्याएर गोविन्देलाई परैबाट “के
भयो? के भन्न आईस्?” भनी सोधिहाल्छे| यसपाली तर गोविंदेको अनुहार चम्किलो र
उत्साहित देखिन्थ्यो| हातमा पनि केही समातिरहेको थियो|
तर जुनकिरीको मन भने झन्झनै ढुकढुक गरि आत्तिरहेको थियो| अन्त्यमा गोविंदे
चिच्याऊँदै दौड्दै अगाडी आई टक्क अडियो र भन्यो – “जुनकिरी दिदी भिमे दाई औउनुभाछ!
यी मलाई खेलौने गाडी ल्याईदिनु भएछ|”
जुठी एक्कासी खुसीले फुरुक्क भएर उफ्रिएर गोविंदेलाई समातेर एकैछिन् त
घच्घच्याऊँन थाल्छे|
“साच्चैं भनेकोस् केटा? हेर है ठट्टा नगर फेरी यस्तो कुरामा तेरी
जुनकिरी दिदीले तलाई कुट्नुहोला फेरी!”
“ठट्टा गरेको हैन के!यी यो कोले ल्याईदिएको तनि मलाई?”
केही छिन् अगाडी डरले चिसो पसेको जुनकिरीको मनमा अचानक भावनाहरु यसरी
अनियन्त्रित हुन थाल्छन् की अब शायद आफ्नो मनको बाँधलाई थाम्न नसक्ने नै भइसकी...
आफ्नो अनियन्त्रित भावनालाई लिएर न उसले हाँस्ने निधो गर्न सक्छे न रुने न खुसीले
कराऊने!
“ए जुनकिरी के भो? सुनिस भिमे आयो रे....”
अचानक लोटाको पानी घोप्टिएको आवाज आऊँछ.... जुनकिरी झसङ्ग बिउँझी
जुर्रुक्क उठ्छे! एकैछिन् त आफु कहाँ छु भन्ने होस् नै पाऊँदिने| लामो लामो स्वास
संगै उसको निधार र शरीर पसीना पसीना हुन्छ! यता उति हेर्छे...कुनै खेतमा नभई मध्यरातको
अध्याँरोको माझमा आफुलाई पाऊँछे|
“के भो छोरी..तर्सिस की क्या हो...? यो पानी भाको लोटा यहाँ बाटैमा
रैछ अँध्यारोमा खुट्टोले लग्यो!”
एकैछिन् त कतै भिमे आइपो सक्योकी.. दिउँसोको घट्नालाई सपनामा पो देखे
की भनेर चित्त बुझाउने बाटो खोज्छे! तर बिडम्बना त्यो बस् सपनै थियो|
बाबुलाई केही नभनी जुनकिरी फेरी ओच्छ्यानमा पल्टिन्छे| मध्यरातको त्यो
समयमा जुनकिरीको आँखाहरु एक्कासी भरिएर आऊँछन्| शायद सपनामै सही अलिबेर निदाएकै
भएपनि भिमेलाई देख्न पाउँने थिई र अलिबेर अझै भए भेट्न पनि...!
(शायद केही सपनाहरु बिपना र केही बिपनाहरु सपना
भईदिए..............)
असारे १५ को बिहानी थियो | गाउँको माहोलनै हर्षोउल्लासमय बनेको थियो
तर यता जुन्किरीका बाबुलाई भने त्यो असारे १५ कुनै विशेष लागेन| किन हो किन मन
एक्कासी खिन्न बनेर आयो...आँसु तप्प तप्प खस्न लागे| मैयाको चोलोलाई सुमसुमाएर भावभिभोर भइ रुन थाले| एउटा दुइ महिनाको दुधे
बालक जस्तै गरी भक्कानिए...|
(लोग्ने मान्छे भई रुन हुन्न त भन्छन् तर रुनु सधैं
कमजोरीका संकेत होइनन्..जुनकिरीका बाबुको पनि त्यस दिन धेरै दिन सम्म संचिएका आँशु भवरेकै रुप लिई बगे....)
कमजोरीका संकेत होइनन्..जुनकिरीका बाबुको पनि त्यस दिन धेरै दिन सम्म संचिएका आँशु भवरेकै रुप लिई बगे....)
येतिकैमा जुनकिरी घर आऊँछे| भित्र पस्न लाग्दा कोही रोएजस्तो घिक्क!
घिक्क! आवाज सुन्छे| ढोका छेउमा रहेको सानो झ्यालबाट भित्र चियाऊँछे| भित्र त अरु
कोही नभएर आफ्नै बाबुलाई रोईरहेको देख्छिन्! आमा बितेको भोलिपल्टको दिन देखी आजसम बाबुले एक थोपा पनि आँशु खसालेको नदेखेकी
जुनकिरी सधैं सोच्थी- “यी केटा मान्छेका मन कति दर्हा हुने हुन्| हाम्रा मन मात्रै
किन यति कमला!”
तर आज उसकै बाबुले उसलाई गलत
सावित गर्दै थिए| आमा बितेको यतिका दिन बितिसके पनि आमा प्रतिको उनको मायाले उनलाई
भित्र भित्र खाएको रहेछ भनी प्रमाणीत भएको थियो| असारे १५को माहोलमा संगै खेत
रोप्न जाने आफ्नो जीवन साथीको सम्झनाले आज जुनकिरीका बाबुको मनको बाँध फुटेको थियो
| समयको वेग अगाडी बढेको भएपनि पत्नी वियोगको त्यो क्षण उनको मानसपटलमा मस्तिष्क
घात बनेर अडेको थियो|
बाबुलाई यस अवस्थामा पाऊँदा जुनकिरी अचानक कम्जोर अनि असमर्थ्य बन्न
पुग्छे| त्यसैले रोईरहेका आफ्ना बाबुलाई बस् चुपचाप हेरि मात्र रहन्छे.....|
भाग ४
दुईवटा ढुंगा थिए.. एउटामा जुनकीरी एउटामा भिमे बसेका थिए| जुनकिरी को छेवैमा रहेकी जुठीले
माटाको धुलो भिमेलाई दिंदै भनी-“ल भिमे अब सिन्दुर हल्दे!”
भिमेले रातो माटाको धुलो टिपेर जुनकिरीको सिउँदोमा सिन्दुर हलेजस्तै
गर्यो| सबैले ताली बजाए|
यसरी भाँडा कुटी खेल्दा भिमे र जुनकिरीको बिबाह भएको थियो| त्यसबेला त
मात्र त्यो एउटा बच्चाको खेलनै थियो तर समय बित्दै जाँदा दुबैले एकअर्कालाई
साच्चैको मन दिनपुगे| कहिले त्यही झगडा गर्थे त कहिले त्यही मिल्थे|अली ठुला भएपछि
संगैको भाडाकुटी टुट्यो| भिमेको आफ्नै जमात थियो र जुनकिरीको आफ्नै साथीसंगीको|
उमेरसंगै त्यो लालाबालापन हराऊँदै गयो| कुनै बेला संगै खेल्ने साथी बिस्तारै
छुट्टा छुट्टै खेल्ने भए| यसरी उमेरको सिंढी चढ्दै गर्दा बालक छँदाको निर्दोषीपन
हराई यौवनको लाल चढ्न थाल्यो| भिमे र उसका अरु साथी ठिटाहरु हट्टकट्टा शरीर भएका जवान
हुँदै गए भने यता जुनकिरीको जमात पनि सौन्दर्यले छताछुल्ल बन्दै थिए|
बालापनको त्यो खेल साच्चैको प्रेममा परिणत भएको थियो| भिमेले अरुलाई एकदमै गिज्याएर सताए
पनि जुनकिरीलाई भने चुइँक्क केही भंथेन र मात्र उनी आउनेजाने बाटो हेरिरहन्थ्यो|
संगै भएकी जुठीलाई जिस्क्याऊँदा जुठी भन्ने गर्थी- “भन्न सक्छस् भने तेरै जुन्किरिलाई
भन्न... मलाई घरीघरी रिस नउँठा त!”
यसो भन्दा जुनकिरी रातो र पिरो हुन्थी अनि संकोच मान्दै भन्थी- “ त
फेरी जे पाए त्यै नभन् है!”
“अनि के त! कसलाई थाहा नभाको हो र! हिम्मत छ भने खुरुखुरु भने भैगो नि
आएर... ट्वाल्ल परि परि हेर्छ! हामीलाई भने बेफ्वाँकमा दिक्क बनाऊँछ|”- यसो भन्दै
जुठी मुर्मुरिन्थी!
तर जुनकिरी पनि मनैमनमा भिमेप्रति आकर्षित थिईन्|बिस्तारै त्यो आकर्षण
जुन्किरीको तर्फ बाट पनि प्रेममा परिणत हुन समय लगेन|
एउटा कलिलो उमेरको अव्यक्त प्रेम.......!
जुनकिरीको उमेरले भर्खरै १७औं बसन्त टेकेको थियो|
निलो पुरानो फरिया अनि कुममा अलिकति च्यातिएको रातै चोली लगाएकी जुनकिरी
पानीको गाग्रो बोकी घरतिर जादैं थिई| यसरीनै छोटो कालो पाइँटसँग सेतो मैलिएको कमिज
लगाएको भिमे भने पर अर्को दिशाबाट आईरहेको थियो| एकैछिन् त भिमे आएको द्रश्य देखेर
जुनकिरीको मनमा एककिसिमको हलचल हुन थाल्छ| त्यसबेला त जुठी पनि साथमा थिईनन् | उसलाई के गरूँ गरूँ हुन्छ|
समयको त्यो पलमा आइसक्दा दुबैलाई थाहा थियो की तिनीहरु एक अर्कालाई मंपराऊँछन् तर
बस् व्यक्त भएको थिएन| भिमेलाई भने जुनकिरी नबोले पनि त्यसको आभास पहिले देखीनै
थियो| भिमे र उ बीच को दुरी जति छोटो हुँदै गयो जुनकिरी त्यसै त्यसै आत्तिन थाली| एकैछिन्
त उसलाई अगाडी बढेको पाईलालाई पछाडी मोडेर जाउँ जाउँ भयो| उसले पाईला अन्योलमा
सुस्त सुस्त चाल्दै थिई भने उता भिमे चाहीं सदाकै जोशसँग आऊँदै थियो|
भिमे सरासर केही भन्न आए जसरी लम्कदै थियो भने जुनकिरी देखेको नदेखे
झैँ गर्ने प्रयास गर्दै थिई| तर प्रयास धेरै बेर टिक्न सकेन किनकी भिमे अन्तत उ भएथिम
आइपुग्यो|
बिचरी जुनकिरी!छेवैबाट जालानी भनेको त ठिक बिपरित अगाडी पो आएर उभिदियो!
जुनकिरीले यसो यताउति हेरी| भिमेले केही
नभनी उसको हातको पानीको गाग्रो खोसेर भुईँमा राख्यो|
“ए!ए! के गरेको तिमीले?”- जुनकिरी अचानक भिमेको यो व्यवहार देखेर केही
डराए जस्तो हुन्छे...उसको ढुकढुकीको वेग अब थाम्नै नसकिने बन्न पुग्छ| भिमे केही
नबोली जुनकिरीको दुबै हात यसरी समात्छ की मानौं अब त्यो हात
जोकोहीले छुटाउनै सक्दैन| जुनकिरी कसैले देख्ला की भनेर यताउति हेरेको हेरै गर्छे|
सधैँ लाजले आँखा पनि जुधाउन नसक्ने जुनकिरीमा आज लाज,डर, अन्योल गरी सम्पूर्ण
भावनाहरुको मिश्रणले मानौ युद्ध लड्दै छ|
“जुनकिरी! यता हेर्त... न्आत्ती यता हेर्न! म यहाँ तलाई डराउन धम्काउन
आको हुँ र भनेको? जुठीले सधैं भन्ने नै भए तलाई नै भन्न भन्थी आज त्यसैको लागी
आएको!”
भिमेले यसो भन्दा जुनकिरीको अघिसम्म द्वदंमय मन केही बेर थामीएजस्तो
भयो| कता कता जुनकिरीलाई भिमेको इशारा बुझे जस्तो पनि लग्यो|
“हेर! न मलाई पढ्न लेख्न आउँछ
न मलाई यस्ता कुरा कसरी भन्नु पर्ने हो नै थाहा छ| तर जसै भएनी मलाई आज भन्नु छ! जुनकिरी
म तलाई असाद्ध्यै मनपराउंछु र तेरो माया किन हो आजकल झन् झन् बढी लाग्न थालेको छ |
तलाई पनि अहिलेसम्म त कता कता महसुस पनि
भयो होला| जुठीले नै कति हल्ला गर्छे तेरो र मेरो बारे| छोरी मान्छेको जात.. तलाई कतै
अर्कैले पो उडाऊने हो की भन्ने पनि लाग्छ आजकल त| तेरा बाले बिहेको कुरो त गरे
छैनन् नि कतै? मलाई उल्टो कति पनि नसोचेस् बस् तेरो माया लाग्छ...|”
अघिसम्म द्वन्दित जुनकिरीका मन अब भने लज्जाको पोखरीमा चुर्लुम्म
डुबुल्की मार्न पुग्छ| लाजले उसको शिर अझ बढी निहुरिन्छन्| भिमेको एकहोरो हेराई उ
प्रति एकत्रित भईरहेकै बेला एकपटक पनि
भिमेलाई कुनै प्रतिक्रिया त परै जावोस् शिर उठाई हेर्ने सामर्थ्य पनि गर्न
सक्दिने| जुनकिरी केही नबोली निहुरिरहन्छे| अघिसम्म प्रतिवादमा छुटाउन खोजेको हात
अब छुटाउने उ चेस्टा नै गर्दिन न कुनै संकोच नै
जताउछे| भिमे भने एकहोरो हेरेको हेरेई गरिरहन्छ| यतिकैमा परबाट गोविन्दे
सुकेको बाँसका पातले बनाइएको फिरफिरे हावाको वेगसंगै घुमाऊँदै दौडदै आइरहेको
हुन्छ| “भिमे दाई”-भनी परै बाट चिच्यऊँछ| दुबैजना झसङ्ग बन्छन्| अघिसम्म परनै भएको
गोविन्दे एकछिन्मै दौडदै नजिक आईपुग्छ| जुनकिरी हत्तपत्त गोविन्दे आउनु अगाडिनै
गाग्रो उठाई हाल्छे|
गोविन्दे भिमे र जुनकिरीलाई पालैपालो हेर्छ| जुनकिरी केही नभएको जसरी
नबोली आफ्नै बाटो लाग्छे भने भिमे पनि गोविन्देलाई लिएर तल खेत तिर लाग्छ|
भाग ५
भिमेले मनको कुरा भनेको दिन देखी जुनकिरीमा अचानक छुट्टै परिवर्तन
देखिन थाल्छ|सधैँ जुठीको गफले हैरान पर्ने जुनकिरी जुठीको गफ धैर्य गरी सुनिरहन
थाल्छे| जुठीले भिमे भनी गिज्याऊँदा पनि भित्रैबाट खुसी र लाज एकैसाथ ब्यक्त भए
जस्तो व्यवहार देखाऊँछे| जुठीले कहिँ कतै जान आग्रह गर्दा पनि खुरुखुरु
मान्छे|जुठीले नभन्दा आफै पनि आग्रह गर्न थाल्छे| जुठीलाई जुनकिरीको चालामाला देखी
अली अचम्म लग्न थाल्छ| जुनकिरीको हरेक कुरा थाहा हुने उसलाई यसपलीको त्यो बिशेष
व्यवहारको कारण भने पत्तो भएको हुँदैन|
भिमेसंग जुनकिरीको त्यो भेट
को ठिक दुई हप्ता बितिसकेको हुन्छ| दुबैजनाको देखादेख भएपनि बोलीचाली भने भएको
हुंदैन| यता भिमेलाई भने जुनकिरीबाट केही प्रतिक्रिया नआईदिंदा मनमा छुट्टै बेचैनी
चलेको हुन्छ| न कुनै शब्द!न् कुनै कुनै किसिमको इशारा! अलिदिन त भिमेलाई जुनकिरीले
उसको भावनालाई गलत अर्थ पो लाई की भन्ने लाग्छ| आफुले बाटैमा त्यसरी हात समात्ने पाराले
कतै जुन्किरीलाई नराम्रो पो लग्यो की भन्ने पनि लग्न थाल्छ| फेरी जुन्किरीका
आँखामा पनि आफ्नो लागी माया देखेको उस्ले त्यसो कदापी हुन सक्दैन भनी चित्त
बुझौंछ|
सोच्छ-“ आ! मैले मन पराउंछु भनेर त्यसलाई आज आएर थाहा भएको हैन क्यार!
मेरो मुखैले भन्न बाँकी थियो त्यतिनै त गरेको!”
एकदिन जुनकिरी र जुठी पानी लिई घर तिर गईरहंदा अचानक बाटैमा भिमे र
चित्रेसँग भेट हुन्छ| चित्रे जुनकिरीलाई देख्नी बित्तिकै प्वाक्क बोल्छ- “ क्या
हो? जुनकिरी भाउजु दाईलाई त केही जवाफनै फर्काउनु भएन रे त?”
भिमे चित्रेको कुरा सुन्ने बित्तिकै चित्रेलाई घेक्र्याऊँदै तानेर
लान्छ!
“ हैन! ऐया! ऐया! के गरेको? झन् तेरैलाई बोल्दिराखे छु!”
“ भो!भो! चाहिनी बेलामा बोल्लास अहिले नबोल!”
यसो भनी दुबै आफ्नो बाटो लाग्छन् तर यता जुनकिरी र जुठी भने ती दुबैलाई हेरी एकैछिन् ट्वाल्ल पर्छन्|
“हैन ए! जुनकिरी अब चाहिं अति भो है!”- पानि को गाग्रो भुइँमा थचक्क
बीसाउंदै जुठी मुर्मुरिदै भन्छे|
“तलाई फेरी के भो एक्कासी?”- जुनकिरी अचम्ममा पर्छे|
“हेर जुनकिरी मैले केही बुझ्दिन भन्ठान्छस् होला तैले! तर अब यो
चित्रेको कुराले चाहिं तैले मलाई कुरा लुकाई रहेछस् भन्ने मैले बुझिसके! ठिकै छ
तैले मलाई नभन्ने नै भए आजबाट ऊ त्यही पल्ला घरे कमिनी भ्यौतीसँग हिंड तर मसंग
नहिंड|”
“ए बाबा नरिसा न हो मेरी जुठी! पहिले गाग्रो लिएर उठ्त! कुरो खासै
ठुलो हैन.. मैले तलाई भन्न नखोजेको पनि
होईन|अली कस्तो अफ्ठ्यारो हो की लाज हो की
कस्तो कस्तो लग्यो अनिर! भईगो अब नरिसाई उठ्न तलाई घर पुगेसी सबै भन्छु नि म!”
जुनकिरीले बाटै बाटो सबैकुरा बेलीबिस्तार लगाएर भन्छे| कुरा भनुन्जेल
आफु पनि रातो र पिरो हुन्छे| हरेक चोटी भिमेको नाम लिई रहंदा उसलाई मनको वेग
बढेजस्तो आभास हुन्छ| उसले आफुले पनि भिमेलाई असाध्यै मन पराउन थालेको कुरा
जुठीलाई भन्छे| जसरी भिमेले उसलाई माया गर्छ त्यसरी नै उसले पनि भिमेलाई औधि माया
गर्ने कुरा पनि व्यक्त गर्छे| जुठी भने जुनकिरीका कुरा एकटक अडिएर कुनै कथा
सुनेझैँ गरी सुनीरहन्छे|
केहीदिन बितेपछि जुनकिरी एक्लै घाँस काटी रहंदा भिमे त्यहीँ आईपुग्छ|
अचानक भिमेलाई आफ्नो अगाडी पाउँदा जुनकिरी झसङ्ग हुन्छे| जुनकिरी आफुलाई भिमेको
उपस्थितिले केही नभएको जस्तो नाटक गर्न खोज्छे|
भिमे घाँस काटिरहेकी जुनकिरी को हात च्याप्प समात्छ| जुनकिरी दाहिने
हातमा लिएको आँसीनै भिमे माथी आत्तिएर ताक्न
पुग्छे|
भिमे जोडले हाँस्दै जुनकिरीको
अर्को हातपनि समात्छ|
“धत्! के गरेकी लाटी? माया गर्नेलाई पनि कोही यसरी ताक्छन्?”
जुनकिरी आफ्नो हात भिमेको हातबाट बिस्तारै फुकाउंदै पहिलो पल्ट भिमेको
अगाडी केही नबोली मुसुक्क हाँस्छे|
“तेरो मनमा मेरोलाई केही न केही त छ भन्ने शंका त थियो तर सोचेभन्दा त
कति हो कति धेरै रहेछ बल्ल पो थाहा भयो| त्यस दिन चित्रेले तलाई त्यती गिज्याएर
पनि राम्रै गरेछ| नभए त आज मैले जुठीबाट सब कुरा कसरी थाहा पाऊँन सक्थे र|”
जुठीले भिमेलाई सब कुरा भनिसकेको भन्ने बुझेपछि अब उसको मनको भावनाहरु
पनि भिमे अगाडी छर्लंग भैसकेको सोचेर उ लाजले भर्करै फक्रिएको गुलाबजस्तै हुन्छे|
उसले अब त केही नबुझेको जस्तो... नाटक न गर्न सक्थी न चाहेर पनि त्यहाँ बाट भागी
हिंड्न|
(कलिलो कोपिला भई अन्जानमा फुलेको उनीहरुको त्यो
प्रेम आज आएर एउटा सुन्दर फूल बनि फक्रिएको थियो|कुनै मानिस या व्यक्ति बिशेष नभई त्यो
धर्ति,त्यो आकाश र त्यी हरियाली आज जुनकिरी र भिमेको प्रेमका साक्षी थिए....| पारी
भवरे पनि शान्त भई सलल बगिरहेको
थियो......मानौं आज भवरेले पनि मायाको सुइँको पाएको थियो.....!
भाग ६
“हेर्त!अहिले त कति शान्त छ यो| कति सोझो बनिरहेछ यो भँवरे| भोलि
आफ्नो बेला आएपछि कस्तो पो हुन्छ....” यसो भन्दै आफ्नो दाहिने काँधमा शिर अड्याएर
बसिरहेकी जुन्किरीलाई भिमे अंगालोमा बाध्छ|
भिमे फेरी बोल्न थाल्छ.. “केही दिनको कुरा न हो म आइहाल्छु| तँ येहीं
बसेर म आउने बाटो हेर्दै गर्नु| म छिटै आऊँछु| आएपछि सबै भन्दा पहिले तेरा बाबुलाई तेरो हात माग्छु|”
“किन जानु पर्यो त्यो पारी त्यस्तो चिन्नु न जान्नु ठाउँमा| यहिँ
गाउँमै दुख सुख गरी जीवन चलेकै छ नि हैन र? मैले सुनेको सरकारले छिटै पूल
बनाईदिन्छन् रे अब| अनि गाउँमा सबै कुरा बन्छन् रे| पढ्न पाउँछन् रे.. राम्रा कुरा
हुने रे|खोई को रैछ यो सरकार भन्ने छिटो बनाए पनि त हुन्थ्यो|”
“अहो! कसले सिकायो नि तलाई यस्ता कुरा चाहिँ?”- भिमे जुन्किरीलाई
गिज्याउने पाराले भन्छ|
“कसले हुनु! त्यही अस्ति जुठीसँग गोठ जाँदा बुढापाकाले गफ गरेको
सुनेकी थिए |मलाई अरु केही थाहा छैन तिमी मलाई छोडेर जान पाउँन्नौ”- यसो भन्दै
जुनकिरी भिमेको हात सानी बच्चीले जसरी च्याप्प समात्छे|
“हेर! म रहरले जान लाग्या हैन नि| गाउँमा केही हुने वाला छैन| यो गाउँ
अनि हामीहरु हिजो जहाँ थियौं त्यही नै छौँ र शायद भोलिका दिनमा पनि त्यस्तै हो|
पढे लेखेर केही गरौंला भन्नु नि अब हाम्रा लागी आकाशको फल आँखा तरी मर भन्या जस्तै
हो| मलाई फेरी यो घर गोठ.. खेतालो गरी बस्न कतिपनि मन छैन| बद्रीलाई हेर्न| दुइचार
पैसा राम्रै कमाएर ल्यायो| बाबा आमालाई पनि शहर लैजान्छु भनेको छ| काका काकी नै
नमान्नु भएर पो अहिले गाउँ छोड्न| अब त्यसैले त हो मलाई सहयोग गर्ने पनि,नत्र त
मैले त्यहाँ के नै चिन्या छु न त मलाई कसैले चिनेको नै छ| त्यो अजुर्नले पनि एकदमै
प्रगति गर्या छ रे| म पनि अब बाको अगाडी नालायक बन्नु भन्दा बरु उतै गएर केही
गर्छु दुइ चार पैसा कमाऊँछु| अनि भने जस्तो भए पछि तलाई पनि मैसँग लान्छु|”
(भिमेमा त्यो जोश छ.. जाँगर छ र शायद सामान्य
युवाका जस्तै कैयौ सपनाहरु पनि तर भिमेको निर्णयमा भिमे स्वयम्को केही भूमिकानै छैन
वास्तवमा भुमिका छ त परिस्थितिको..नियतिको यो समाजको र अभावको| त्यो तुईनको डोरो
पारीको देशको....|)
भिमेले यसो भनीरहंदा जुनकिरीको आँखा भरी आँशु भरिएर आऊँछन्| उ केही
बोल्दिन| भनोस् पनि त के बिचरी| भिमेमा केही गर्छु भन्नी अठोट चढेको थियो... जे
भएपनि उ एउटा युवा हो.. उसले आज अठोट लिएको छ र उसको येही निर्णय नै अन्तिम छ|
भिमे जुनकिरीको निहुँरिएको शिरलाई उठाई जुनकिरीको अध्याँरो बनेको
मुहारलाई हेर्दै हत्केलालेआँशु पुछिदिन्छ.. अनि ग्वाम्लंग जुनकिरीलाई दुबै हातले
अंगालोमा बाँध्छ|
आज भिमेले त्यसरी आँशु पुछेको पनि ६ महिना बितिसकेछ| जुनकिरी एकटक गरी
शान्त भँवरेलाई हेर्दै छे|भँवरे त्यहीं छ.. त्यस्तै छ र त्यो तुइनको डोरो पनि अझ
उस्तै छ| स्थान पनि उही नै हो.. आँखामा पनि उबेलाकै झैं आँशुनै छन् तर कमी छ त
शिरलाई आड लाउने त्यो काँधको| उसलाई अंगालोमा बाध्ने त्यी हातहरुको|
भिमेले भनेजस्तै गरी दिनहुँ जसो आएर भिमेको बाटो हेर्न थाल्छे अनि सोच
मग्न बन्छे| भिमेले त जुनकिरी आत्तिन्छे भनेर त्यसो भनेको थियो तर छोरी मान्छेको
मन न हो... कहाँ त्यती सजिलै बुझ्छ र?
“के गर्दै होला! समयमा खान पनि पाएको छ की पो छैन?काम पायो की पाएन
होला? हुन त काम खोज्नै कति समय लग्यो होला..म पनि के भैरहेकी होला... दुख गर्न गएसी
समय त लाग्छ नै है! कहाँ मैले भनेको बेलै आऊँछ तनी? तर दशैँमा पनि केही खबरनै
आएन....."
अनि त भिमे गएको दिनदेखी जुन्करी र उसको मनोवादको क्रम यसरीनै चल्न
थाले...त्यही भिरमा बसी तुईनको त्यो डोरो लरलर हल्लिएको हेरिरहनु उसको दिनहुँको
उध्यश्य नै बन्न पुग्छ|
(एउटा त्यस्तो डोरो.. जुन कसैगरी चुँडीए त आशाका डोरहरु
पनि पार नै नपाई भँवरेमा नै मिसिनेछन्| अनि यस्तै भिमे अनि जुन्किरीका सपनाहरु
पनि......!)
भाग ७
“जुनकिरी.. ए जुनकिरी... जुनकिरी कता छस्? बाहिर आईजन..!”- जुठी जुन्करीको घरको आँगनमा आई जुनकिरीलाई बाहिर निस्किन भन्छे|
भिजेको हातलाई आफ्नो फरियामा पुच्छदै जुनकिरी बाहीर निस्किन्छे|
“हैन के भो? किन हो खुरु खुरु भित्र नआईकन यसरी बोलाकी?”
जुठी आफ्नो आवाज़ अली सानो बनाऊँदै बिस्तारै सोध्छे-“तेरा बा घरै छन्?”
“गोठतिर गाछन्.. किन के भो? घरी मलाई
खोज्छेस् घरी बालाई?”
“ए ठिकै भो तेरा लागी खुसीको समाचार ल्याएकी छु.. अर्जुन आएछ नि| तलाई
खोज्दै थियो| त्यसले भिमेलाई भेटेको थियो अरे,तलाई भेट्नु छ भन्दै थियो| यी हेर्न
मलाई पनि चुरा ल्याइदिएछ| लिन्न भनेको लिउ लिउ भनेर कर गर्यो अनि लिए| तर साच्चै
कति राम्रा हेर्न!”
भिमेको नाम सुन्ने बित्तिकै जुनकिरीको मनमा ठुलो वहाव चल्न थाल्छ| आज
झन्डै एक बर्षनै भईसक्न लाग्दा अन्तत भिमेको बारेमा खबर आएको थियो| त्यो के थियो
जुन्किरीलाई थाहा थिएन तैपनि ऊ गद्गद् हुन्छे| उसले जुठीले देखाएको चुरालाई हेरेर
पनि हेरेकी हुँदिन| उसका लागी भिमेको
बारेमा खबरसम्म सुन्न पाउनु पनि भिमे स्वयम्लाई नै भेट्नु सरह थियो| अनि त उसलाई
अब अर्जुन भएथिम दौडीहाल्न आतुर भयो...|
“कता छ अर्जुन? म गैहल्छु”- जुनकिरी खुसीले पागल हुन्छे|
“ऊ पर जन्तरे काकाको घर छेउको चौतारो निर ठिटाहरुसँग गफ लडाऊँदै थियो!”
जुनकिरी होस् नै गुमेको मान्छे जसरी जुठीलाई आफुसंग जाउँ पनि नभनी “ल
म गई हाले है” भन्दै दौडीन्छे|
जुठी उत्साहित हुँदै गईरहेकी जुन्किरीलाई भन्छे-“ए!ए! लड्लिस् बाटोमा
बिस्तारै जा!”
जुनकिरीले परैबाट अर्जुनलाई चौतारोमा देख्छे तर एक्कासी उसका पाईला
रोकिन पुग्छन्|
सोच्छे- “ छ्या! यतिका पछि भेट्दैछु यो अर्जुनलाई, त्यै माथी पहिले
पनि बोल्थिन त्यती... आज अब भिमेको बारे सुन्नी बित्तिकै फुरुङ्ग हुँदै आई भन्ने
पो सोच्ने हो की...!”
अनि फेरी सोच्छे-“आ..जे सोचे नि सोचोस्..मलाई भिमेको बारेमा उसले
ल्याएको खबर पो ठुलो छ त न की उसको विचार!”यसरी फेरी उ अगाडी लम्कन्छे|
अर्जुनसँग बोलिरहेका ठिटाहरु अन्त लागिसकेका हुन्छन्| उसले जुनकिरीलाई
परैबाट चिन्छ र जुनकिरी आफु थिम नै आऊँदै गरेको भनी अड्कल पनि गरिसेको हुन्छ|
अर्जुन जुनकिरीलाई हेरेर मुस्कुरऊँछ र जुनकिरी पनि स्वाभविक रुपमा नै
प्रतिक्रिया स्वरूप मुस्कुराऊँदै भन्छे- “अर्जुन सन्चै छौँ? कहिले आयौ?”
“अ! सन्चै छु.. म अघि दिउँसो मात्रै आईपुगेको..अनि तिमी सन्चै छौँ?”
“अ सन्चै छु...”- जुनकिरीलाई अर्जुनसँग सन्चो बिसन्चो नभई भिमेको
बारेमा सुन्नु थियो.. थाहा पाउनु थियो... तर सिधै सोध्न पनि त मिल्दैन थियो| उसको
मनमा सार्है ठुलो कौतुहलता गडेर बसेको
थियो जुन उ सिधै व्यक्त गर्न सक्थिनन्| मुखले सन्चो बिसन्चो सोधीरहंदा मनमा भने
भिमेकै बारे जिज्ञाशा थियो| उता अर्जुनलाई पनि यो कुरो राम्ररी नै थाहा थियो| उसले
जुनकिरीको त्यँहा आउनुको उध्य्श्य स्पष्ट बुझेको थियो| नाई भने पहिलेका दिनमा त
उसको जुनकिरीसँग त्यती कुरानै भएको थिएन तर आज भिमेको मायाले जुनकिरीलाई अर्जुन
समक्ष ल्याएको थियो| जुनकिरीको कुरो स्पष्ट बुझेको अर्जुनले आखिर अन्य कुरा नगरी
सिधै मुख्य कुरानै गरिदियो- “अघि जुठीले तलाई म आएको कुरो भनेकी होला हैन?”
जुनकिरी केही अफ्ठ्यारो मानेझैं गरेर “अँ” भनी टाउको हल्लाउंछे|
अर्जुन फेरी बोल्दै जान्छ-“भिमेलाई भेटेको थिए.. केटो सन्चै छ| यहाँ
भन्दा त एकदमै कति हो कति टाढा ठाउँमा छ| तैले त कल्पना पनि गर्न सक्दिनेस होला|
काम खोज्दै धेरै टाढै पो पुगेछ त! तर पुरानो एकदमै नाम चलेकै होटलमा काम पाएको छ|
सबैखाले काम गर्नु पर्दो रैछ| होटल निकै चल्ने हुनाले काम बिहान बाट बेलुका सम्मनै हुँदो रहेछ| दुख पनि एकदमै छ| तर अब दुख
नहुने काम त के नै हुन्छ र?”
अघिसम उभिएकी जुनकिरी अर्जुनको अली पर छेउ थुचुक्क बस्छे|जुनकिरी
अर्जुनको कुरा निकै ध्यान दिएर सुन्छे मानौ उसलाई अर्जुनले आज कुनै मिठो कथा भनिरहेको
छ|
“गाउँ कहिले जान्छस् भनेर सोधेको थिए... -“जाउँला नि तर अहिले जान्न”
भनेको थियो| कहिले सम्म दुख गर्छस् त येही भन्दा-“खै अब भाग्यमा लेखेसम्म” भन्दै
थियो| त्यसको कुरो सुनेर त त्यो अहिलेनै आउला जस्तो त लाग्दैन| अँ तलाई चाहिँ निकै
सम्झिदै थियो|”
यसो भन्दै झोलाबाट उसले टिका,चुरा,धागो,एना,रिब्ब्न,ओठमा लगाउने लाली
आदि जस्ता शृंगारका सामानहरु झिक्न थाल्छ अनि सबै एकै प्लास्टिकको थैलोमा समेटेर
जुनकिरीलाई दिन्छ|
“यी ला लि यो, भिमेले तलाई पठाईदिएको| तेरो लागी यी सब किनेर राखेको
रहेछ कुनैदिन गाउँ जाँदा लैजान भनेको थियो|
जुनकिरी भिमेले पठाएको सामान केही नबोली दुबै हातले समाऊँछे|
“हेर जुनकिरी यस्तै हो अब| त्यस ठाऊँमा पुगेपछि तँ नि त्यही हो म नि
त्यही हो| तेरो माया चाहिँ मारेको छैन रैछ| कुनै दिन त आईहाल्छ नि!किन चिन्ता
गर्छेस्| सुरु सुरुमा त दुख कट्न पर्यो नि! हैन र?”
जुनकिरी केही बोल्दिनन्... उसको शिर निहुरिएको हुन्छ| भिमेले
पठाईदिएका सामानलाई हेर्दै उ भिमेकै कल्पना गर्न थाल्छे|यतिका दिनसम्म त उसलाई
भिमेको बारेमा केही थाहा थिएन तर अब भने उसले भिमेको अवस्था बारे हल्का एउटा चित्र
बनाउन सक्ने भई|
“मलाई थाहा छ तँलाई त्यो भिमे कति माया लाग्छ भनेर.. ए अनि तेरी आमाले
पनि संसार छाड्नु भएछ है| अघिमात्रै थाहा पाएको.. दुख लाग्यो सुन्दा| कति मजाकी
हुनुन्थ्यो तेरी आमा पनि, के गर्ने हुनिलाई कसले टार्न सक्छ र? यस्तै रैछ| ल म
अहिले लागे है! पछि भेट्दै गरौँला|”
यती भनेर अर्जुन आफ्नो घरतिर लग्यो| जुनकिरी भने त्यही भिमेका सम्झनाको
पोकोलाई एकोहोरो गरी हेरी रहन्छे....|
भाग ८
पौषको महिना....झिसमिसे उज्यालो भएको थियो तर माँझगाउँलाई भने सेतो
कुहिराको सिरकले छोपेको थियो| मौसम चिसो थियो| गाउँका आइमाई अनि बुढापाका उठिसकेका
थिए भने साना नानीहरु अझै सिरकलाई च्यापी मस्त निन्द्रामा थिए| यता सदाझैं
जुनकिरीका आँखा पनि छिटै खुले| जुन्किरीलाई आफ्नो ओढ्नेको प्वालबाट चिसो सिरेटो
छिरेको महसुस हुन्छ| ओढ्नेलाई यसो मिलाई कोल्टे फेर्छे अनि अँगेना तिर हेर्छे|
उसले आफ्नी आमालाई चुलोमा आगो फुकिरहेको कल्पना गर्छे| बिहान बिऊँझीएर आमालाई उनी
सधैं यसरीनै हेर्ने गर्थी| जुनकिरीको दिनको सुरुवात नै चुलोको आगोको प्रकाशले
धपक्क बलेको आमाको मुहारबाट हुने गर्थ्यो तर आज आमा उसको कल्पनामा थिई
वास्तविकतामा हैन| आमाले गर्नुहुने सम्पूर्ण नित्य कर्म अब उसको काँधमा थियो|
बिहान सबेरै र बेलुका सुत्नु अगाडी आमालाई यसरीनै कल्पना गरी सम्झनु जुनकिरीको
दिनको एक महत्वपूर्ण अंशनै बनेको थियो| कति महिनौसम्म त आमा भनी कति बोलाऊँथ्यी..
कति खोज्थी, साना सानाकुराका लागी प्रश्न गर्थी अनि फेरी आमा छैनन् भन्ने महसुस
भएपछि मर्माहत बन्थी|
जुनकिरी भारी मन लिई उठ्छे| अलि पर अँध्यारोमा सुतिरेहेका बाबुको
आकृतिलाई हेर्छे| बाबु नउठून भनी बिस्तारै आफ्नो नित्य कर्म सुरु गर्छे| काम गर्दा गर्दै... उज्याला किरणहरु बिस्तारै
अझ उजागर बन्दै जान थाल्छन्|
जुनकिरी भित्तामा झुन्डाईएको एना अगाडी उभिएर आफैलाई हेर्छे| उसले भिमेले पठाईदिएको
टिका निधारमा लगाऊँछे अनि यसो मुस्कुराऊँने प्रयास गर्छे| अनि ओठका दुईकुनालाई यसो
तन्काऊँछे तर ती स्वाभाविकतामा कहाँ फैलिएका थिए र?| जुन्किरीलाई आफ्नो मुहार देखी
आफैलाई खिन्न लाग्छ| अनि काईयोले कपाल कोर्न थाल्छे| भिमेले पठाईदिएको कपालमा
लाउने धागोले कपाल बाट्छे| सर्लक्क पारेर चुल्ठालाई अगाडी ल्याएर फेरी
मुस्कुराऊँने प्रयास गर्छे| तर फेरी असफल हुन्छे| हातमा उसले पहिलेनै भिमेले
पठाईदिएका चुरा लगाएकी थिई| राता र हरिया रंगका त्यी चुराहरुलाई हेरी अनि भिमेलाई
सम्झिन थाल्छे|
“खोई ल्या त तेरो हात हेरौं”- भिमे जुनकिरीको हात आफूतिर तान्छ|
“किन हात खाली राखेकी? चुरा छैनन् तेरा?”- जुनकिरीलाई हेर्दै भिमे
प्रश्न गर्छ|
“ छ अलिकति.. काम गर्दा अली अफ्ठ्यारो लाग्छ अनि फुकालिदिन्छु|”
“लगा न त त्यसो भा.. यस्तो खाली नराख.. अब अहिले त जति छ त्यतिनै लगाई
म तलाई कुनै दिन यो हतै भरी छपक्क हुने.. छन्छन् बज्ने गरी ल्याईंदिउंला|”
भिमेले आज आएर महिनौ पछि आफ्ना बचन पुरा गरेर छाड्यो तर
जुनकिरीले भने जसका लागी लगाईदिएको उसैलाई
भने देखाउने सौभाग्य पाईने..|भिमेको अवस्थाको बारेमा उसले अर्जुनबाट थाहा पाएपछि
उसका मन केही मात्रामा भएपनि कैयौं दिनपछि हलुका बनेको थियो| अझ भिमेले पनि उसलाई
अत्यन्तै सम्झिएको थाहा पाऊँदा उसको मन भिमेका उपहारहरुलाई हेरी एकैछिन् भएपनि
प्रफुल्ल बनेको थियो| अब चाहिँ उसले आफुलाई सम्झाउने प्रयास गर्न सक्ने थोरैनै
भएपनि बाटो पाएकी थिई|
जुनकिरी मन मनै भिमेको बारेमा एकोहोरो कुरा खेलाऊँदै घरतिर हिँडिरहेकी
हुन्छे| बाटैमा उसको अर्जुनसँग भेट हुन्छ| जुनकिरीलाई अर्जुन अर्को दिशाबाट
आईरहेको भने थाहा हुँदैन|
“ए जुनकिरी कता हिंडेकी?”
अर्जुनलाई अचानक आफ्नो अगाडी देख्दा जुनकिरी एकैछिन् त झसंग हुन्छे|
“ घरतिर”- भनी एक शब्दमा अली अन्कनाऊँदै भन्छे|
“जुनकिरी गार्हो त नमान तर तँ त्यो भिमेलाई कति सम्झिन्छेस् है!”
अर्जुनको कुरा सुनेर जुनकिरीलाई उसलाई कस्तो जवाफ दिने भनेर अड्कल नै पाऊँदिने|
“मैले भिमेलाई भेट्दा पनि तेरा बारेमा धेरै कुरा गरेको थियो| सार्है
माया मान्दो रैछ त्यसले नि अनि उत्तिकै तईले पनि | कसरी माया मारी जान सक्या रैछ
गाउँ छाडी| त्यसका ठाउँमा म भको भएपनि सक्थिन होला| एउटा कुरा भन्छु तलाई कस्तो
लाग्छ कुन्नि भनूँ की नभनु भईरहेछ!”
जुनकिरी फेरी केही अन्कनाउंदै भन्छे-“ अँ भनन के कुरो हो?”
“मैले यसो सोधे भनेर नराम्रो त नमान तर भिमेसँग एकदमै भेट्न मन छ होला है तँलाई? यदी
त चहान्छेस् भने म तँलाई भिमे भएथिम लगेर
भेटाईदिन्छु| म त्यती चाहीं तेरालागी गर्न सक्छु|तर एउटा कुरा तेरा बालाई चाहिँ के
भन्ने हो त्यो तँ आफैले सोच्नु| जाने यता उति खर्चको केही चिन्ता लिनु पर्दैन त्यो
सब म बेहोर्छु|”
यती भनेर अर्जुन आफ्नो बाटो लग्यो| जनुकिरी भने भर्खरै अर्जुनले के कति कुरा कसरी भनेर गयो
केही मेलो मेसो नै पाईने| न उसले कुनै सहज प्रतिक्रिया नै दिई न कुनै इशारा|
एकतमासले अर्जुनका कुरा सुनी मात्र रही|
जुनकिरी बाटैभरी अर्जुनका शब्दहरु सम्झंदै हिंडछे| घर पुगिसकेपछि पनि
एकोहोरो गरी सोच्छे- “ के साच्चै म भिमेथिम जान सक्छु त? यसबारे त मैले कहिले सोचेको पनि थिईन| के साच्चै म
भिमेलाई अब भेट्न सक्छु?”
जुनकिरी भिमेलाई भेट्ने कल्पनाले खुसी हुन थाल्छे अनि फेरी सोच्छे-“तर
बाबालाई के भन्ने?”
जुनकिरीलाई अब दोधार हुन थाल्छ| अर्जुनका कुराले आज धेरै दिनपछि उसमा
स्वास र आश दुबै पलाए जस्तो भएको छ तर बाबालाई के भनी जाने भन्ने कुराले अब उ
चिन्तित बन्छे| उनी भिमेलाई भेट्न जाने भनी सिधै भन्न सक्थिनन्... कहिले पनि घर
छाडी टाढा कतै गएकी पनि थिईन| उसलाई त बाहिरी संसार बारे केही थाहा नै थिएन| अन्तत
उसले जुठीलाई सोध्ने निर्णय गर्छे|
“सुन्न एउटा कुरा
छ..त्यसमा मलाई तेरो मदत चाहिएको छ के”-
जुनकिरी केही संकोच मान्दै आफ्ना कुरा ब्यक्त गर्छे|
“ओहो.. के हो त्यस्तो भन्न खुरु खुरु”- जुठी सदाझैं झट्ट सोधिहाल्छे|
“अर्जुनलाई हिजो खेतबाट फर्किदा भेटेको थिए| अब फर्किने अरे.. अनि
मेरो मिल्छ भने उसले मलाई लगेर भिमेलाई भेटाईदिन्छु भन्याँ छ|”
जुनकिरी को कुरा सुनेर जुठी बिचैमा कुरा काटीहल्छे|
“अहो! यस्तो भन्यो त्यसले? अनि के तँ जान्छेस् त? अनि तेरा बालाई
चाहिँ के भन्छेस् नि?”
“अँ त्यही त तलाई सोध्नु आकी म जाउ की नजाऊ.. गएपनि कसरी के भनी जाउँ
भनेर नि! भिमेलाई भेट्ने यो मौका म गुमाउन चाहन्न तर... गईहाल्न त्यती सजिलो पनि त
छैन| बाबाले त्यसै कहाँ जान दिनुहोला र मलाई|”
जुठी पनि जुनकिरीका कुराले सोच मग्न हुन्छे| उपनि कहिल्यै त्यस ठाउँ
छाडेर टाढा नगकी अनित उ जुनकिरीलाई के भनी सल्लाह दिने भनी अन्योलमा
पर्छे| यतिकैमा त्यहाँ अर्जुन आईपुग्छ|
“अहो दुबैजना के गफ गर्दै हो?”- अर्जुन हँसिलो मिजासले सोध्छ|
जुनकिरी अचानक अर्जुनको प्रवेशले केही असहज हुन्छे किनकी उ अर्जुनले
भनेका कुरामा नै जुठीसंग सल्लाह माग्न आएकी थिई| उ अर्जुनलाई हेरी प्रतिक्रिया
स्वरूप मुस्कुराऊँछे मात्र|
जुठी भने सदाझैँ कुनै संकोच
बिना बोल्छे - “अहो कता बाट आयौ आज हाम्रो घरतिर.. बस न!”
“बस्न त हुन्थ्यो तर मेरा अन्तै काम छन्| यही बाटो हुँदै जानु थियो
त्यसैले आएको|”
“ए त्यसो पो कुरो”- जुठी पनि हँसिलो पाराले भन्छे|
“अँ साच्चै एउटा कुरा!”- अर्जुन केही सम्झिए जस्तो पाराले भन्न थाल्छ!
“जुनकिरी के विचार गरीस् त? एउटा कुरा भन्छु फेरी नराम्रो नमान है| मलाई थाहा छ तँ तेरा बाबुको एक्ली छोरी! तेरा लागी बाबु र
बाबुका लागी त सबथोक होस्| फेरी कहिल्यै तँ यस ठाउँ छोडी अन्तै गएको पनि छैनस् न तईले शहरमा कसैलाई चिनेको नै! बाबुलाई भन्न
गाह्रो भाको तरपनि तँलाई साच्चै जान मन छ भने मसंग एउटा उपाय छ!”
जुठी बिचैमा प्वाक्क बोल्छे-“ के उपाय हो त्यस्तो?”
“मसँग बिवाह गर्ने!”
शान्त भई अर्जुनको कुरा सुनिरहेकी जुनकिरी खंग्रंगै हुन्छे| जुठी त
झन् सुनेर अक्क न बक्क हुन्छे!
“हैन बौलाईस् की क्या हो के भनेको त्यस्तो?”- जुठी आश्चर्य हुँदै
भन्छे|
“मलाई थाहा थियो तिमीहरु यसै भन्छौं र सोच्छौ भनेर| तर मैले बिबाह
भन्दैमा काँ येस्लाई साच्चै को बिबाह गर्ने हो त! कुरो के भने यसका बाले यसलाई
त्यती सजिलै जान दिदैंनन्| मैले यहिँ आएर यसको बिहेको कुरा बारे पनि निकै चर्चो
सुनें|”
अर्जुन जुनकिरी तिर नजिक गई उसको अगाडी बसेर भन्न थाल्छ|
“हेर् जुनकिरी तेरा बा सोझा छन् तर उनले तँलाई त्यती सजिलै मसँग जान
भने दिंदैनन्| त्यसैले तेरा बालाई नि जुनकिरी! म आफै गई तेरा हात माग्छु अनि शहर
घुमाई ल्याउंछु भनी भन्छु|अहिले कसैलाई थाहा नदिन भनेर पनि भनौंला | बस् अहिलेको
मुख्य कुरा भनेको तँलाई भिमेलाई भेटाई ल्याउनू हो| तँलाई यदी साँच्चै नै जानु मन छ
भने म यो पनि गरीदिऊँला| अनि पछि मै संगै फर्किलिस्! बालाई अनि पछि दुबै मिली सबै
कुरा भनूँला|”
जुठी र जुनकिरी भिमेको कुरा जिल्लै परेझैं गरी सुनीरहन्छन्| अर्जुन
यती भनेर आफ्नो बाटो लाग्छ|
“अहो यसले तेरो बारेमा कति सोचीदिएको होला! पहिले त यो यस्तो थिएन नि!
बोल्न नि गाह्रो मान्थ्यो तर धेरै सानैमा शहर गएको हो सब थाहा छ नि यसलाई त! के
गर्छेस् त अब? कुरो त ठिकै हो यसको नि! विचार गर् अब आफै!”
(मानिसका ईच्छा र आकंक्षा नै कति हुन्छन्| एउटा
सिद्दीन पाको छैन अर्को सुरु हुन्छ| यही विभिन्न इच्छा पूर्तिका निमित्त सबै लागी
पर्छन् अनि| ईच्छा पनि कस्ता कस्ता अनेक
हुन्छन्| यसलाई पुरा गर्ने होड धेरथोर सबैमा हुन्छ| साच्चै इच्छा नै नहुँदा
हुन् त जीवन कस्तो होला?
अभाव र विकटताका जुठी जुनकिरीहरुलाई भने केही
त्यस्ता अनेक इच्छाहरु भने पलाएनन् तर आज जुनकिरीलाई भने भिमेलाई हेर्ने इच्छाले
सतायो| इच्छा मात्र जुर्मुराएको मनमा आज अर्जुनले पुरा हुने आशाकै दियो बाल्यो| अनि
त के चाहियो र? अन्तत जुनकिरीले जीवनमै पहिलो पटक भँवरेलाई पार लगाई.......|)
भाग ९
“भन्या थिएनी मैले निकै टाढा पो छ त त्यो बस्ने ठाउँ| धैर्य गर अब अझै
एक दिनको कुरो न हो अनि आई हाल्छ| बरु
ठाउँ ठाउँमा पुलिसले कहिले काहिँ चेक जाँच गर्छन्| तिमीलाई सोधे भने म
तिम्रो श्रीमान हूँ भन्नु ल!”
एउटा अन्जान शहर.. अनि त्यसका अन्जान बाटा अनि गल्लीहरु पार लगाऊँदै
थिई जुनकिरी| माँझगाउँको माँझबाट आज उ धेरै टाढा आइसकेकी थिई| बाबुलाई पलपलमा
सम्झिदै गर्दा उसको मन भारी भई आउंथ्यो तर अर्जुनले उसलाई सम्झाई रहन्थ्यो अनि त उ
फेरी एकातिर भिमेसँग भेट्न पाइने कुराले दङ्ग पनि पर्थी| सपनामा पनि त्यस ठाउँको
कल्पना नगरेकी जुनकिरीले आज अर्जुनको पछि पछि पाईला चाल्दै थिई| कहिल्यै गाडीमा यात्रा
नगरेकी उसले एकपटक त निकै वान्ता पनि गरी तर अर्जुनले घिन नमानी उसलाई निकै सहयोग गर्यो|
उसलाई आज आएर साच्चै नै अर्जुन कति राम्रो अनि असल केटो रहेछ भन्ने
महसुस भएको थियो| अर्जुनले उसका लागी यती
ठुलो गुन लगाउंन लागेको थियो जसको भरपाई शायदै उसले कसरी गर्ने भनी सोच्न
नै सकी| ठुलो शहर अनि मानिसहरुको भिडमा जुनकिरी मात्र एउटा थोप्ला जस्ती थिई| विभिन्न
किसिमका घर,गाडी,सामान आदी देखेर उ मनमनै दङ्ग परी| अनि सोच्थी- “ आज जुठी पनि
सँगै भाकी भए| अहो त्यो त झन् कति पो दङ्ग पर्थी| यस्तो भएर नै होला भिमेलाई पनि यहिँको रमझम मनपरेछ
क्यार!”
धेरै लामो सफर पछि अचानक उनीहरु एक ठाउँ पुग्छन्| बाटो सबै खचाखच
मान्छेले भरिएका हुन्छन्|गाडी त्यस्तै मानिसहरुको हुल पनि त्यतिकै धेरै| सबै कोही
कता कोही कता जाँदै गरेका| कोही भने जुनकिरीलाई खाउँला झैं गरी नजर घुमाई रहेका
थिए|अचानक मानिसहरु अर्कै नबुझिने बोलि बोल्न लागे |मानिसका रंग अनि बर्णहरु अचानक
अली नौला हुँदै गए| यो सब देखी जुनकिरी केही असहज महसुस गर्न थाल्छे| जुनकिरीको
अनुहारमा झल्किएको प्रश्न चिन्ह यता अर्जुनले भने
बुझिसकेको हुन्छ अनि त उसलाई सम्झाउने मनसायले भनीहाल्छ|
“अहो आत्तिस की क्या हो? यस्तै हो यता तिर त एकदम भिड भाड हुन्छ| अनि
यिनीहरु फेरी नेपाली नि बोल्दैनन् के| अबो अली समयको कुरा हो भिमे सँग भेट
भईहाल्छ| यत्रो बाटो त आँट गरी आईस् पुगिहाल्छस् अब| फेरी भिमेलाई भेटी घर पनि त
जानु छ| बिचरा तेरा बाबु फेरी नक्कली ज्वाँई बनि छोरी लग्या छु!”–अर्जुनले
मुस्कुराऊँदै यसो भन्दा उसको अन्तिम वाक्यले जुनकिरी पनि मुस्कुराऊँछे|
रात परिसकेको हुन्छ र जुनकिरी निकै थाकेकी हुन्छे|
“ल आज एकदिन हो अब यहिँ बास बस्नु पर्छ| भोलि सबेरै अनि भिमेलाई भेट्न
जाने| थाकेकी छस् होला आराम गर्नु म केही खानेको बेवस्था गर्छु| यी ला यो
सुन्तलाको जुस पी अली ताकत आउँछ| नडराई बस् है म आई हाले”
यती भनेर अर्जुन बाहिर तिर जान्छ|
थकाईले लखतरान परेकी जुनकिरी एक
घुट्को जुस सुरूप्प तान्छे| जुसको एक घुट्कीले उसलाई वास्तवमै अत्यन्तै प्यास पो
लागेछ भन्ने आभास हुन्छ| अनि त उ एकैछिन्मा जुस सक्काऊँछे| अघिसम्म थाकेको महसुस
भएको उसलाई अब चाहीं आफ्नै शरीर आफ्नो वश्मै
नभएको जस्तो महसुस हुन्छ |उसलाई राम्ररी आँखा खोल्न पनि गाह्रो हुन थाल्छ| अचानक
भँवरेलाई सम्झिन थाल्छे.. अनि त त्यो तुईनको डोरो आँखा अगाडी नै लार्किरहेको जस्तो
गरी लर लर हल्लीन्छन् अनि त्यसमा लर्कदै
गरेका मानिसहरुको दृश्य आँखा सामु नाच्न थाल्छन्|बाबु,भिमे, जुठी गरी सबैजना उसका
स्मृतिमा प्रवेश गर्न थाल्छन्|बिस्तारै शरीर शिथिल हुँदै गई अन्तत उ ओछ्यानमा
पल्टिन पुग्छे........ आँखा बन्द गर्दै गर्दा उसले आफ्नी आमालाई देख्छे....... |
No comments:
Post a Comment